निजी क्षेत्रलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने प्रधानमन्त्रीको भनाइ


काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग शुक्रबार बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा संकट आएका बेला निजी क्षेत्र संकूचित हुने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन नबनाइने बताएका हुन् ।

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्ने गरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे ।

भेटमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

महासंघले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्द्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार