राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने


काठमाडौं, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने भएको छ ।

राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । राज्याभिषेक आगामी मे ६ तारिख अर्थात् वैशाख २३ गते हुँदैछ ।

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार राष्ट्रपति पौडेल वैशाख २१ मा बेलायत जाने तयारी छ । बेलायती सञ्चारमाध्यमकाअनुसार राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ । उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन् ।

राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् ।

बकिङघम राजप्रसादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार