काठमाडौं, २८ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।
मंगलबार पार्टीनिकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका हुन् ।
आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै उनले प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए । उनले संघ र प्रदेश सरकार दुवैमा आफूहरुको भूमिका हुने उल्लेख गरे ।
अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए । शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताउँदै उनले कुनै पनि बालबालिकालाई विद्यालयबाहिर राख्न नहुने बताए । सबैले कम्तीमा कक्षा १२ सम्म पढ्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
युवाहरुलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।


