काठमाडौं, २७ चैत । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वायज युनाइटेड र एपीएफ क्लबले बराबरी खेलेका छन् ।
दशरथ रंगशालमा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।बराबरीपछि दुवैले समान १/१ अंक पाए ।
जारी लिगमा मनाङ मर्स्याङ्दी क्लबसँगै अपराजित रहेको चर्च ब्वाइजले ३ खेल जित्दा ४ खेल बराबरी खेलेको छ ।
७ खेलबाट १३ अंक जोडेको चर्च ब्वाइज तेस्रो स्थानमा उक्लेको छ । सातदोबाटो समान अंक भएपनि गोल अन्तरमा चर्च ब्वाइजमा अघि रहेको हो ।
‘बी’ डिभिजनको च्याम्पियन बन्दै पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको चर्च ब्वाइजले सुरुवाती तीन खेल जित्दै शानदार शुरुवात गरेको थियो ।
तर त्यसयता लगातार चार खेल बराबरी खेलेको छ । एपीएफको यो दोस्रो बराबरी हो । ७ खेलबाट ११ अंक जोडेको एपीएफ पाँचौ स्थानमा छ ।


