एजेन्सी, २३ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा रहेका छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा व्यापकरुपमा भईरहेको छ ।
सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो । ट्रम्पसँग डेनियलको गोप्य सम्बन्ध रहेको भनेको छ ।
वर्षौंदेखि यस आरोपलाई ट्रम्पले खण्डन गर्दै आएका छन् । ट्रम्पले आत्मसमर्पण गरे लगत्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले डेनियलबारे व्यापक चर्चा गरिरहेका छन् ।
४४ वर्षीया अभिनेत्री डेनियलको वास्तविक नाम स्टेफनी क्लिफर्ड वयस्क फिल्म अभिनेत्री र निर्देशक हुन् । उनको जन्म ब्याटन रुजमा भएको थियो । उनी वयस्क–फिल्म उद्योगमा प्रख्यात थिइन्, जहाँ उनले पुरस्कार समेत जितेकी थिइन् ।
जुड अपाटो निर्देशित ‘द फोर्टी इयर वर्ल्ड भर्जिन’ सहित धेरै फिल्ममा उनले अभिनय समेत गरेकी छन् ।
उनी नौ वर्षको उमेरमै यौन दुर्व्यवहारको डरलाग्दो घटनाको वर्णन एक पुस्तकमा गरेकी छन् ।
हाइ स्कुलमा अध्ययन गर्दा उनी पढाइमा उत्कृष्ट थिइन् । त्यसपछि उनले स्ट्रिपर र पछि एडल्ट फिल्म उद्योगमा काम गरिन् । यस्ता फिल्मको प्रदर्शन, लेखन र निर्देशनमा उनले व्यापक सफलता प्राप्त गरिन् । बाल्यकालीन दुर्व्यवहारले करिअर छनोटमा भूमिका नखेलेको उनको भनाइ छ र उद्योगमा प्राप्त सफलताप्रति उनी गर्व समेत गर्छिन् ।
सन् २००९ मा डेनियलले लुइसियाना राज्यबाट अमेरिकी सिनेट सिटको लागि लड्ने विचार गरिन् । उनलाई त्यसबेला डीसी म्याडम पनि भनिन्थ्यो । अन्ततः उनी सिनेटको दौडमा उठिनन् । तर उनको अभियानले राष्ट्रिय मिडियाको ध्यान तानेको थियो ।
उनले एकपटक पत्रकारसँगको कुराकानीमा आफ्नो अभियानको नारा ‘मानिसलाई इमान्दारीपूर्वक प्रेरित गर्नु’ रहेको बताएकी थिइन् भने अर्को एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई जे मन लाग्छ बोलाउनुहोस्, तर तपाईंले मलाई कपटी भन्न सक्नुहुन्न ।’
सन् २००६ मा लेक टाहो रिसोर्टमा आयोजित सेलिब्रिटी गल्फ प्रतियोगितामा डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको दाबी गरेपछि सन् २०१८ मा डेनियल विश्वव्यापी नाम बनिन् । ट्रम्पले उक्त अफेयरलाई अस्वीकारेका छन् ।
डेनियलले पत्रकारलाई जनाए अनुसार उनले ट्रम्पलाई गल्फ प्रतियोगितामा भेटिन् र सन् २००६ मा उनको होटल सुइटमा ट्रम्पलाई निम्तो समेत गरिएको थियो । सोही ठाउँमा आफूहरुले सहमतिमै यौन सम्बन्ध राखेको उनले बताएकी छन् । त्यतिबेला उनी २७ वर्षकी थिइन् र ट्रम्प ६० वर्षका थिए र मेलानियासँग विवाह गरिसकेका थिए ।
सन् २०२४ मा ह्वाइट हाउसमा फर्किने अभियानमा रहेका ट्रम्पले सम्बन्धलाई अस्वीकार गरेका छन् । डेनियलका आरोपहरू सन् २०१८ सम्म सार्वजनिक गरिएका थिएनन् र वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेपछि व्यापक मिडियाको प्राथकितामा परेको थियो ।
ट्रम्पको नीजि वकील माइकल कोहेनले २०१६ को राष्ट्रपति चुनाव अघि १ लाख ३० हजार डलर भुक्तानी गरेका थिए । सन् २०१८ मा सीबीएससँगको अन्तर्वार्तामा डेनियलले ट्रम्पसँगको सन् २००६ को भेटघाटबारेमा विस्तृत कुरा पनि गरेकी थिइन् ।


