एजेन्सी, २२ चैत । पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा ३५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।
मास्क लगाएर मस्जिदभित्र ढुङ्गा मुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले जानकारी दिएको छ ।
जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधवार बिहानैदेखि झडप भएको बताएका छन् ।मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन् ।
हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिक रूपमा उपस्थित हुन आह्वान पनि गरेको थियो । रमजानको पवित्र महिनामा हजारौँ भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन् ।


