न्युजिल्याण्डविरुद्ध श्रीलंका सुपर ओभरमा विजयी


एजेन्सी, १९ चैत । न्युजिल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली श्रीलंका सुपर ओभरमा विजयी भएको छ ।

श्रीलंकाले दिएको १९७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो ।

सुपर ओभरमा न्युजिल्याण्डले २ विकेट गुमाएर ८ रन बनायो । ९ रनको लक्ष्य श्रीलंकाले तेस्रो बलमै भेट्टायो । यसअघि अकल्याण्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो ।

उसका लागि चरित असालान्का र कुशल परेराले अर्धशतकीय पारी खेले । ४१ बलको सामना गरेका असालान्काले ६ छक्का र २ चौकासहित ६७ रन बनाए । परेराले ४५ बलमा चार चौका र एक छक्काको सहयोगमा अविजित ५३ रनको योगदान दिए ।

कुशल मेन्डिसले २५, वानिन्दु हसरंगाले अविजित २१ र धनन्जय डिसिल्भाले १५ रन जोडे । न्युजिल्याण्डका लागि जेम्सन नीशमले दुई, एडम मिल्ने, हेनरी सिप्ली र बेन्जामिन लिस्टरले एक/एक विकेट लिए ।

१९७ रनको लक्ष्यका साथ जवाफ ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो । उसका लागि डेरिल मिचेलले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । त्यस्तैै, मार्क चेपम्यानले ३३, कप्तान टम लाथमले २७, सचिन रविन्द्रले २६, जेम्स नीशमले १९ र इश सोढीले अविजित १० रन जोडे ।

श्रीलंकाका लागि प्रमोद मदुशन, वानिन्दु हसरंगा र दासुन शानकाले दुई/दुई विकेट लिए । यो जितसँगै सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ । श्रीलंका–न्युजिल्याण्डबीचको दोस्रो टी–२० खेल बुधबार हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार