रौतहट, १९ चैत । कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै दोषीमाथि कारबाही तथा शान्ति सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल विद्युत् प्राधिकरण मौलापुरका कर्मचारी झन्डै डेढ महिना पछि काममा फर्किँदै छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा शनिबार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय सहमतिपछि प्राधिकरण कर्मचारीहरू काममा फर्किने भएका हुन् ।
मौलापुर नगरपालिकाले गत फागुन ५ गते देखि आयोजना भएको मधानी महोत्सवको अवसरमा विद्युत् लाइन काटिएपछि स्थानीयद्वारा नेपाल विद्युत् प्राधिकरण मौलापुरका कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले काम रोकेर प्रदेश व्यापीरुपमा आन्दोलित भएका थिए ।
कर्मचारी माथि दुर्व्यवहार गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग सहित फागुन ५ गते देखि नै कर्मचारीहरू आन्दोलित भएर कार्यालयको काम रोकेका थिए ।
सर्वपक्षीय छलफलमा प्रमुख जिल्ला अधिकारी मिश्र, नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रमुख मुनिन्द्र ठाकुर, रौतहट प्रहरका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्रका प्रहरी उपरीक्षक माधव रेग्मी, राष्ट्रिय अनुसन्धान प्रहरी उपरीक्षक चन्दनकुमार झा, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्युत् प्राधिकरणका विभिन्न कर्मचारी संगठनका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।
मौलापुर नगरपालिकाले आयोजना गरेको महोत्सवको क्रममा विद्युत् आपूर्तिको विषयलाई लिएर कर्मचारीमाथि दुर्व्यवहार भएकोले घटनाको जिम्मेवारी लिँदै मेयर साहले आत्मालोचना गरेपछि सहमति भएको ठागा दासले जानकारी दिए ।
मेयर साहको अनुरोधमा विद्युत् प्राधिकरण मौलापुरका कर्मचारीहरू आजदेखि काममा फर्किन सहमत भएको जनाइएको छ ।


