एजेन्सी, १६ चैत । भारतको पञ्जाब प्रहरीले थुप्रै दिनदेखि खोजिरहेका खालिस्तानी समर्थक अमृतपाल सिंह पञ्जाबमा रहेको देखिएका छन् ।
केही दिनअघि अमृतपाल नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गर्दै आएको थियो ।
भारतीय सुरक्षा एजेन्सीको खोजी सूचीमा रहेका अमृतपाल पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासको आशंका थियो । तर, भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार अबेर राति अमृतपाल पञ्जाबमा देखिएका छन् ।
हिन्दुस्तान टाइम्सले जनाए अनुसार अमृतपाल पञ्जाब राज्यको होशियारपुरमा छन् र प्रहरीलाई फेरी एकपटक झुक्क्याउन सफल भएका छन् । पञ्जाब प्रहरीले उनलाई पक्राउ गर्नका लागि मङ्गलवार अबेर राती फगवाडा–होशियारपुर रोडमा घेराबन्दीलाई तीव्र गरेका थिए ।
स्रोतले जनाए अनुसार होशियारपुरमा एक इनोभा कार देखिएको थियो जसभित्र अमृतपाल भएको आशङ्का गरिएको थियो । प्रहरीले सूचना पाएपछि घेर्ने कोसिस गर्दा अमृतपाल कार छोडेर गाउँमा भागेको भारतीय सञ्चार माध्यमले बताएको छ ।
रिपोर्टका अनुसार मरनियां कलां नजिकै फगवाडा–होशियारपुर हाइवेमा गुडिरहेको इनोभा कारभित्र अमृतपाल भएको शङ्का गरिएको थियो ।
त्यसपछि प्रहरीले पूरा इलाकामा खोजी अभियानमा तीव्रता दिएको छ । गुप्तचरले अमृतपाल होशियारपुरमा भएको सूचना कतैबाट पाइएको छ । यता प्रहरीले यस्तो सूचना कहाँबाट पाए भन्नेबारे केही जानकारी भने दिएको छैन ।
अमृतपाल फेरी पञ्जाबमै देखिएको भएको खबरले विभिन्न प्रश्न निम्तिएका छन् । उनी पञ्जाबबाट बाहिरिएका छन् भनिरहेको अवस्थामा उनी पुनः किन त्यहाँ फर्किए भनेर प्रश्न उठेको छ । अमृतपालले आत्मसमर्पण गर्न लागेका हुन् त भनेर पनि धेरैले प्रश्न सोधिरहेका छन् ।
अमृतपालका काका पनि पहिला भागेका थिए, तर पछि आत्मसमर्पण गरेका थिए ।
प्रहरीले १८ मार्चदेखि नै अमृतपाल सिंहविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको थियो । त्यतिबेलादेखि उनी फरार छन् ।


