सप्तरी, १५ चैत । सप्तरीमा बीमाको रकम हत्याउन एक महिलाले करेन्ट लगाएर पतिको हत्या गरेकी छन् ।
जिल्लाको कञ्चनरुप नगरपालिका–३ दास टोल बस्ने कोशिलादेवी दासले बीमाको रकम हत्याउन ३७ वर्षीय पति शिवशंकर दासको हत्या गरेकी हुन् ।
कोशिलादेवीले आफ्नी देवरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा शिवशंकरको करेन्ट लगाएर हत्या गरेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर मृत्यु भएको भनिएका शिवशंकरको मृत्यु प्रकरणमा ५ महिनाको लामो अनुसन्धानपश्चात् उनको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको डीएसपी रायले बताए ।
उनले मृतक शिवशंकरकी श्रीमति कोशिलादेवी, भाइबुहारी हिरनदेवी र नातामा भाउजु पर्ने शान्तीदेवीले दिएको बयानअनुसार ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको बताए ।
उनले भने, ‘शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि शान्तीदेवीसँग ऋण लिएका थिए । ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् । उनीहरुले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै शिवशंकरको हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी समेत रहने भन्दै योजना तयार पारेकी थिइन् ।’
योजनाअनुसार शान्तीदेवीले कात्तिक ५ गते शिवशंकरलाई आफ्नो घरमा बोलाएर मदिरा सेवन गराई फर्काएकी थिइन् । मदिराको नशामा मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि कोशिलादेवीले उनको औंलामा तार बेरी करेन्ट लगाएर हत्या गरेको बयान दिएकी हुन् ।
हत्यापछि कोशिलादेवीले आफ्नो पतिको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।


