जनकपुरधाम, १५ चैत । जनकपुरधाम उपमहानगरपालिकाले जानकी फुलबारी प्रतिवेदनको प्रभावकारी कार्यान्वयनका लागि गम्भीर बन्ने प्रतिबद्धता जनाएको छ ।
बुधबार नगरप्रमुख मनोजकुमार साहको अध्यक्षता एवं धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको प्रमुख आतिथ्यमा भ्रष्टाचारविरुद्ध जनकपुर नागरिक समाजका अभियन्ता मुरली मनोहर मिश्रको माग बमोजिम सरोकारबालाहरुबिच भएको छलफलबाट यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।
जानकी–फुलबारी अतिक्रमण प्रतिवेदन–२०७६ को कार्यान्वयन सन्दर्भमा बसेको सर्वपक्षीय बैठकमा नगरप्रमुख साहले प्रतिवेदन कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताए ।
उनले उक्त प्रतिवेदन बमोजिम कुन–कुन जग्गाधनीले कति–कति जग्गा दिनुपर्ने र बाँकी रहेको यकिन गर्न नापी कार्यालयको सहयोगमा पुनः नापजाँच गराउन आफू तत्पर रहेको बताउँदै पहिलो चरणमा तेलहा–मडहा र जानकी फुलबारीको संरक्षणमा लागिपरेको प्रतिबद्धता व्यक्त गरे । उनले रामसागर पोखरीको सौन्दर्यीकरणमा पनि सम्पूर्ण निकाय एवं जनकपुर नागरिक समाजलाई सहकार्य एवं सहभागिताका लागि आग्रह गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनकपुरधामका सार्वजनिक एवं सांस्कृतिक सम्पत्तिहरुको संरक्षणमा जिल्ला प्रशासन कार्यालय धनुषा सदैब साथ रहनुको साथै कानुनी राज्यको प्रत्याभूत दिलाउन अठोट रहेको प्रतिबद्धता व्यक्त गरे । उनले यथाशीघ्र सरोकारवालाहरुको बैठक बोलाई प्रतिवेदनको कार्यान्वयनमा सहयोग गर्नेसमेत बताए ।
बैठकमा नागरिक अगुवा मुरली मनोहर मिश्रले बालबालिकाहरुको व्यक्तित्व विकासका लागि विद्यालयको २ सय मिटर क्षेत्रमा पान, गुटखा, चुरोटजस्ता प्राणघातक सुर्तीजन्य पदार्थहरुको बिक्रीवितरणविरुद्ध कडाइका साथ लाग्नुपर्ने माग गरेका थिए ।
उनले नगरभित्रका देवालय, विद्यालय, चिकित्सालय तथा पुस्तकालय क्षेत्रमा मान्स–मदिरा बिक्रीवितरणमा कडाइका साथ लाग्न सरोकारबालासँग आग्रहसमेत गरे ।


