काठमाडौं, १५ चैत । एपीएफ क्लबविरुद्ध २–१ गोलको जीत निकाल्दै चर्च ब्वाइज यूनाइटेड जगदम्बा १३औं जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
सिमरा रंगशालामा एपीएफले बनाएको सुरुआती अग्रतालाई उल्ट्याउँदै चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
रोमाञ्चक जितसँगै उसले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल प्रवेशका लागि चर्च ब्वाइजले बिहिीबार एनआरटीको सामना गर्नेछ ।
एपीएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीएको हो ।
चर्च ब्वाइजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक÷एक गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्ने भएको छ ।


