सिरहा, १४ चैत । सिरहाको गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठमाथि कालोमोसो दलिएको छ ।
मंगलबार दिउँसो प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेलामा एकजना अपरिचित व्यक्तिले नगरप्रमुख श्रेष्ठमाथि कालोमोसो दलेका हुन् ।
नगरप्रमुख श्रेष्ठ काम विशेषले कार्यालय बाहिर निस्किरहेकै बेला गाडी चढ्ने क्रममा एकजनाले गाडी बाहिरबाटै कागजात देखाए जस्तो गरेको र अर्कोले उनको शरीरमाथि मोबिल छर्केको नगरप्रमुखका सवारी चालक रामकेवल मण्डलले जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठमाथि मोबिल छ्याप्ने व्यक्तिहरुले त्यहाँ नेपाल कम्यूनिष्ट पार्टी (बहुमत)को जनसंघर्ष परिचालन समितिको पर्चासमेत छरेका छन् ।
पर्चामा नगरप्रमुख श्रेष्ठलाई लघुवित्त मार्फत गरिव जनतालाई उठिवास लगाएको, मिटरब्याजीहरुलाई संरक्षण दिएको, हटियाको करमा १ करोट ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेकोले जनकारवाही गरिएको उल्लेख छ ।
नगरप्रमुख श्रेष्ठले फर्जी कागजात बनाएर गोलबजार–१ मुक्सार बाटोको ६२ लाख रुपैयाँ हिनामिना गरेको, अवैधानिक तरिकाले नदी दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारीलाई हटाएकोले जनकारवाहीस्वरुप शरीरमा मोबिल छर्केको पर्चामा लेखिएको छ ।
यसैबिच नगरप्रमुख श्रेष्ठमाथि कालोमोसो दलेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–१ बस्ने साविसरण महरा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


