काठमाडौं, १४ चैत । विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार ललितपुर मेयर्स–११ लाई ३७ रनले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।
चारै खेलमा पराजय बेहोरेको ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमासम्पन्न खेलमा एपिएफले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो ।
उसका लागि सोनी पाख्रिनले १५ तथा लक्ष्मी चौधरी र सिमा केसीले समान १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
एपिएफका लागि राजमती ऐरी र विनु बुढा मगरले समान दुई तथा इन्दु वर्मा, कप्तान सीता राना मगर र सुष्मा श्रेष्ठले एक/एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनायो । उसका लागि राजमती ऐरीले ५२ बलमा चार चौकाको मद्दतमा अविजित ४१ रन बनाइन् ।
त्यस्तै, कप्तान सीता राना मगरले १९ र बिनु बुढा मगरले १२ रन जोडे । ललितपुरका लागि सिमा केसी र शृष्टि जैसीले समान दुई तथा मनिषा उपाध्याय र सोनी पाख्रिनले एक/एक विकेट लिए ।
एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले हराएको थियो । यसअघि ललितपुर सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको हार बेहोरेको थियो ।


