विराटनगर, १३ चैत । विराट गोल्डकपको सेमिफाइनलमा भारत केरलाको लुका सकर क्लब पुगेको छ ।
विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा ८–७ गोलले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
टाइब्रेकरमा भारतको तर्फबाट चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन गोल गरेका थिए भने संकटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए । संकटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरजजिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गर्न सफल भएका थिए ।
भारतको जितसँगै विराट गोल्डकपको क्वाटरफाइनलको पूरा भएको छ भने भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक बिजेता एपीएफसँग सेमिफाईनल खेल्नेछ । घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।


