काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि निर्वाचन परिचालन संयोजक तोकेको छ । १० वैशाखमा हुने तीन क्षेत्रको उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई क्षेत्रको निर्वाचनमा संयोजनको जिम्मेवारी दिइएको छ ।
उपसभापति डोलप्रसाद अर्याललाई चितवन–२, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई तनहुँ–१ र केन्द्रीय सदस्य गणेश कार्कीलाई बारा–२ मको निर्वाचन परिचालन संयोजक तोकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
चितवन–२ मा सभापति रवि लामिछाने नै उम्मेदवार हुनेछन् । अन्य दुई क्षेत्रको उम्मेदवार चयन भने भइसकेको छैन । आकांक्षीहरुका बीचमा प्रतिस्पर्धा गराएर उम्मेदवार चयन गरिने रास्वपाले जनाएको छ ।
बारा–२ मा उम्मेदवारी चयन तथा अन्य तयारीका लागि सांसद मनिष झा समेत खटिने भएका छन् । बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीको आन्तरिक तयारीका लागि आइतबार सो क्षेत्रमा सांसद झालाई खटाइएको केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।
उक्त क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सांसद पद रिक्त रहेको छ । कांग्रेस, माओवादी लगायतका सत्ताधारी दलले यस क्षेत्रमा जनता समाजवादी पार्टीलाई सघाउने संकेत गरेका छन् ।
त्यस्तै, तनहुँ–१ मा निर्वाचन तयारी गर्नका लागि रास्वपाका सहमहामन्त्री क्षेत्रमा खटिइसकेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि त्यहाँ पुन निर्वाचन हुन लागेको छ । कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने चर्चा छ । कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार सोमबार तय गर्ने निर्णय गरेको छ ।
तनहुँ–१ मा रास्वपाबाट मंसिरमा पराजित विकास सिग्देल, नमस्तेलाल भूमि श्रेष्ठ लगायत आकांक्षी छन् । बन्दिपुरका श्रेष्ठ सामाजिक कार्यमा क्रियाशील व्यक्ति हुन् ।
१९ गते साँझ ७ बजे उम्मेदवार निश्चित हुने डुम्रेले जानकारी दिए । आकांक्षी उम्मेवार छान्नका लागि क्षेत्रका क्रियाशील पार्टी सदस्यले मत दिन पाउने छन् । रास्वपाले उपनिर्वाचन हुने क्षेत्रमा तालमेल नगर्ने निर्णय गरिसकेको छ ।


