उपनिर्वाचनका लागि दल दर्ताको समय सकियो


काठमाडौं, १२ चैत । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि निर्धारण गरेको समय आइतबार सकिएको छ । आयोगले गत ८ चैतमा दल दर्ताका लागि आइतबारसम्मको समय निर्धारण गरेको थियो ।

आगामी १० वैशाखमा चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । आयोगले १६ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

आयोगका अनुसार १८ चैतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले नागरिकतासम्बन्धी मुद्दामा सांसद पद गुमाएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती क्षेत्र पनि अहिले रिक्त छन् ।

आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार