काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर गरिएसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बनाइने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले जनाए अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका हुन् ।
तत्कालीन एमालेसहितको गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सरकारमा थिए ।
स्रोतका अनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि उपप्रधानमन्त्री श्रेष्ठले आइतबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाइएको छ ।
यद्यपि मन्त्रालयको जिम्मेवारी लिएको करिब सय दिनमा गरिएको कामकारवाही बा बारेमा जानकारी दिन उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्न लागेको मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।
श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलालमोदी सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


