बारा २ मा जसपालाई काँग्रेसको सहयोग


बारा, १२ चैत । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा– २ मा जनता समाजवादी पार्टी नेपाललाई सहयोग गर्ने भएको छ ।

काँग्रेसको शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपा नेपाललाई सहयोग गर्ने जनाएको एक पदाधिकारीले जानकारी दिए ।

बारा– २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा– २ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएका थिएनन् । काँग्रेसले माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।

उपनिर्वाचन हुने चितवन– २ र तनहुँ– १ मा भने कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने जनाइएको छ ।

चितवन– २ मा यसअघि कांग्रेसका उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए । त्यस्तै तनहुँ– १ मा कांग्रेसबाटै रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी अहिले राष्ट्रपति छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार