सरकारमा जान अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन


काठमाडौं, ७ चैत । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा भएको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता, मन्त्रालयलगायत विषयमा छलफल भएको हो ।

एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल बनाएको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सम्मिलित कार्यदल बनाएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भन्नेबारे छलफल भएको छ । कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को–को सरकारमा जाने बारे पनि छलफल गरिएको छ ।’

एकीकृत समाजवादीले सोमबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार