काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका यादव चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।
उपराष्ट्रपति यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ पनि गरिएको छ । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।
समारोहमा पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।


