रियललाई हराउँदै बार्सालाई १२ अंकको अग्रता


एजेन्सी, ६ चैत । फ्रांक केइसीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि एल क्लासिकोमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको छ ।

आइतबार राति भएको एल क्लासिकोमा जीतसँगै ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता बनाउन सफल भएको हो ।

बार्साको घरेलु मैदानमा भएको खेलमा अग्रता भने रियलले लिएको थियो । भिनिसियस जुनियरको क्रसलाई रोनाल्ड अरुहोले आफ्नै पोस्टमा छिराएपछि खेलको नवौँ मिनेटमा नै रियलले गोल गरेको थियो । तर, पहिलो हाफको अन्त्यमा सर्जी रोबर्टोले खेल बराबरी गरे ।

त्यस्तै दोस्रो हाफमा मार्को असेन्सियोको अफसाइड भन्दै रद्द गरिएको थियो । त्यसपछि खेलको ९२ औँ मिनेटमा केइसीले गोल गर्दै बार्सालाई ३ अंक दिलाएका थिए । १२ खेल बाँकी रहँदा बार्सा सन् २०१८–१९ सिजनपछि पहिलोपटक ला लिगा जित्ने नजिक पुगेको छ । २६ खेलपछि बार्साको ६८ अंक रहेको छ भने साबिक विजेता रियल ५६ अंकमा सीमित भयो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार