जनकपुरधाम, ५ चैत । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका चयनका लागि आइतबार शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।
स्ववियुको नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराबमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जना विद्यार्थीले आ–आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।
राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादव सभापतिका उम्मेदवार छन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन् ।
त्यस्तै, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिशेक साह सभापतिका उम्मेदवार छन् ।
राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् । लोसपा विद्यार्थी संघबाट सभापतिका उम्मेदवार प्रशान्त झाले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी आकर्षण घटेको बताए । उनले १४ वर्षपछि भएको स्ववियु निर्वाचनका कारण विद्यार्थीहरू उत्साहित भएको बताए ।
नेपाल विद्यार्थी संघबाट सभापतिका उम्मेदवार मनिषकुमार यादवले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए । सबै विद्यार्थीको एक मात्र एजेण्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ । उनले स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने दाबी गरे ।
विद्यार्थी जनमत संघको तर्फबाट सभापतिका उम्मेदवार इजाज मोमिनले विद्यार्थी संगठनहरू स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए ।
करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ४ बजे सम्पन्न भएको थियो ।
पटकपटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आइतबार भएको स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी संगठनसम्म उत्साही देखिएका थिए । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी संगठनहरू निर्वाचनका लागि झनै उत्साही भएका थिए ।
देशभरका त्रिविका ६२ आङ्गिक क्याम्पस र १ हजार ४० क्याम्पसमा एकैदिन भएको निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको थियो ।
विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।
स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि.सं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी संगठनको सहयोगका कारणले निर्वाचन सम्भव भएको बताए ।
केही क्याम्पसमा विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको समेत अधिकारीले बताए । स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले तालमेल गरेका थिए ।
स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको थियो । वि.सं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको थियो ।
मतदानस्थलमा पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ्ग, मसी लैजान निषेध गरिएको थियो । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको थियो ।


