काठमाडौं, ५ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।
‘सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ । अब हामी सत्तापक्षमा बस्नेछौँ,’ उनले भने । उपमहासचिव खतिवडाले सरकारमा जाने वा नजाने भन्ने टुंगो भने लागिनसकेको बताए ।
‘सरकारलाई विश्वासको मत दिएर सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेका छौँ । तर, सरकारमा जाने वा नजाने भन्नेबारे टुंगो भइसकेको छैन,’ प्रवक्ता खतिवडाले भने ।
आइतबार बिहान कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।


