आज उपराष्ट्रपति निर्वाचन, साँझसम्म परिणाम सार्वजनिक


काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ भने यसको परिणाम आजै साँझ ६ बजेसम्म सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुने हो ।

बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको उनले बताइन् ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपा नेपालका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरिसकेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनको पनि नाम उल्लेख छ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदान गर्नेछन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

नेपालको संवैधानिक प्रावधान रहे अनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए भने दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार