काठमाडौँमा छैटौँ निफ, ३५ देशका ९५ फिल्म प्रदर्शनमा


काठमाडौँं, २ चैत । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा ३५ देशका ९५ फिल्म प्रदर्शनमा आज हुने भएको छ ।

चैत्र ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ । ‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गर्ने छ भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट गरिएको कार्यक्रममा आयोजकले जनाएको छ । महोत्सवमा सहभागी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित ५ वटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा हुनेछन् । संसारभरीका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी कोही पनि बञ्चित हुनहुन्न भनेर आयोजकले फिल्म प्रदर्शन ४ हलमा व्यवस्थापन गरेको जनाइएको छ ।

निफको ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ ( अप्रतियोगी) प्रदर्शन हुनेछ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जनाइएको छ । यस पटकपनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश गरेका छन् ।

यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइएको छ भने चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरूले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार