एजेन्सी, १ चैत । एर्लिङ हालान्डको कीर्तिमानी पाँच गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई म्यानचेस्टर सिटीले ७–० ले हराएको हो । ८–१ नतिजासहित सिटी अन्तिम आठमा पुग्न सफल भएको छ । यसअघि भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले ५ तथा गुन्डोगान र ब्रुएनाले एक÷एक गोल गरेका थिए ।
हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र सिटीबाट एकै सिजन ३९ गोल गर्ने खेलाडीसमेत बन्न सफल भएको छ ।


