जनकपुरधाम, २८ फागुन । चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले मधेसको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय घेराउ गरेका छन् । विभिन्न ५ बुन्दे माग सहित १७ दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका अभियानीहरुले मन्त्रालय घेराउ गरेका हुन् ।
धर्नामा बसेको दुई साता बितेपनि तीनै तहको सरकारले बेवास्ता गरेको भन्दै आइतबार जनकपुरधाममा प्रदर्शन गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानीहरु मन्त्रालय घेराउ गर्न पुगेका थिए । मन्त्रालय घेराउ गर्न पुगेका अभियानीहरुसंग मन्त्री वसन्त कुशवाहाले छलफल समेत गरेका थिए ।
आन्दोलनकारीहरुले आफ्नो ५ बुदेँ माग सम्बोधनका लागि मन्त्री समक्ष प्रस्ताव राखेपछि मन्त्री कुशवाहाले यी मागहरु यहाँबाट पूरा हुन नसक्ने बताएका थिए । मन्त्रीको जवाफपछि आन्दोलनकारीहरु झन क्रुद्ध बनेका थिए ।
चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव आक्रोशित हुदैँ मन्त्रीसँग भुमी व्यवस्थाको अधिकार हुदाँहुदैँ पनि केही गर्न नसक्ने बताउनु निक्कमापन रहेको आरोप लगाए । उनले निर्वाचनका क्रममा सुकुम्बासी तथा पीडित जनताका समस्या प्रति गम्भिर नरहेको आरोप समेत लगाए ।
यता भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले सुकुम्बासीहरुका लागि जग्गा आवश्यक रहेको र मन्त्रालयको मातहत यो अधिकार नरहेकाले यहाँबाट उनीहरुको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिए । यद्यपि भूमि आयोगमा यसका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । बताएका छन् ।
धर्नास्थलमै खाना पकाउने, खाने, बस्ने र सुत्नेसम्म गरेका सुकुम्बासीहरुको अहिलेसम्म कसैले नसुनेको गुनासो छ । लामो समय देखि आन्दोलन, धर्ना, अनसन गर्दै आएका सुकुम्बासी अभियानीहरु लामो समयदेखि धर्नास्थललाई बासस्थान बनाएका छन् ।
चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकार विगतमा भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने लगायतका मागहरु अगाडी सार्दै आईरहेका छन् ।
भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने भन्दै सुकुम्बासी आन्दोलनकारीहरु फागुन ११ गतेदेखि नै धर्नामा बसेका छन् ।
यता आन्दोलनकारीहरुले तीनै तहको सरकार बिरुद्ध नारावाजी गर्दै जनकपुरधामको भ्रमरपुरा चोकमा आधा घण्टा चक्का जाम समेत गरेका छन् । आफूहरुको माग सम्बोधन नभए चक्का जामको समयावधि दैनिक बढाउँदै जाने र यो भन्दा पनि सशक्त आन्दोलन गर्ने चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक यादवले चेतावनी दिए ।


