माओवादी आन्दोलनका घटकहरुको संयुक्त पत्रकार सम्मेलन आज


काठमाडौँ, २८ फागुन । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी आन्दोलनका घटकहरु आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जनाएका छन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिरया गर्ने निर्णय गरेको थियो । त्यसअघि फागुन २३ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ उपाध्यक्ष सीपी गजुरेलले दिएको जानकारी अनुसार द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन गर्न लागिएको हो ।

अन्तरक्रिया पनि सोही विषयमा केन्द्रित रहने भएको छ । अन्तरक्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने नेता गजुरेलले बताए ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छिट्टै समाजवादी केन्द्र घोषणा हुने बताइरहेका बेला हुन लागेको संयुक्त पत्रकार सम्मेलनलाई विशेष महत्वका साथ हेरिदैँछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार