गठबन्धनकै निर्णयअनुसार उपराष्ट्रपतिमा हाम्रो उम्मेदवारी : सीके राउत


काठमाडौं, २७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपतिमा उम्मेदवारी दिएको बताएका छन् ।

शनिबार जनमतको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने समझदारी भएको बताए ।

निर्वाचन आयोगले पनि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै हुनुपर्ने आशय व्यक्त गरेको भन्दै राउतले आफूहरुको उम्मेदवारमा सहमति नजुटे मित्रवत प्रतिस्पर्धा गर्ने बताए ।

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै मधेशी महिलाको तर्फबाट आफूले उम्मेदवारी दिएको बताइन् ।

सत्तारुढ गठबन्धनमै रहेको दल जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव र प्रमिला कुमारीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार