जनकपुर, १४ फागुन । पाककलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरमा सुरु भएको छ ।
धार्मिक नगरी जनकपुरधाम स्थित जानकी मन्दिरमा दर्शन गर्दै शोको छायांकन सुरु भएको हो ।
निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीलगायतले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु गरेको हो ।
सेफ सन्तोष शाह तथा अन्य सेफको परिचय भिडियो छायांकन सुरु भएको निर्माता पाण्डेले जानकारी दिए । प्री–अडिसनबाट छनोट भएका प्रतियोगीको अभिमुखीकरण र भिडियो कभरेजका लागि पनि कामहरु थालिएको छ ।
ओरिएन्टेसनसँगै लाइभ अडिसनको सुटिङ समेत अघि बढेको छ । सुटिंग चैत महिनादेखि शो प्रसारण गरिने भएको छ ।
उक्त शोमा १८ एपिसोड हुनेछ । १ सय प्रतियोगीले शोमा प्रतिस्पर्धा गर्ने भएका छन् । विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्ने जनाएका छन् भने १० लाख रुपैयाँ भन्दा बढीको उपहार दर्शकले क्विज सेग्मेन्ट मार्फत जित्नसक्ने छन् ।
मनोरन्जन, नेपाली खानाको ज्ञान, खाना पस्कने कला लगायतका बिषयलाई उक्त शोमा समेट्ने जनाइएको छ ।
गेस्ट्रोनोमि टुरिजमलाई मध्यनजर गर्दै शोको आरम्भ गरिएको छ भने उक्त कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।


