हेटौँडा, १४ फागुन । बागमती प्रदेशमा पनि राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष संयुक्तरूपमा राजीनामा बुझाएका छन् ।
राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
संयुक्तरुपमा बुझाइएको राजीनामा पत्रमा, ‘हालै विकसित राजनैतिक घटना क्रमका कारण हामी तीनै जना मन्त्रीहरुले संयुक्तरुपमा राजिनामा पेश गर्दछौं । हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले यस (तपाईंको) नेतृत्वमा रहेको सरकारलाई दिंदै आएको समर्थनसमेत आजैका मितिबाट फिर्ता लिएको जानकारी गराउँदछौं ।’ उल्लेख गरिएको छ ।
बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री रहेका थिए ।
संघमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो ।


