जनकपुरधाम, १३ फागुन । मिथिला माध्यमिकी परिक्रमा पद यात्रा गर्दै आज महोत्तरीको मडइ पुग्दैँ छन् ।
शुक्रबार जलेश्वर पुगेर रात्री विश्राम गरेको थियो । भने आज परिक्रमाका पद यात्रीहरुले मडइ प्रस्थान गर्दैछन् ।
मडईमा रात्रि विश्राम समेत गर्नेछन् । शुक्रबार परिक्रमा जलेश्वर पुगेको परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गरेका थिए ।
परिक्रमा यात्रीहरुले जलेश्वरनाथ महादेवको दर्शन गरेका थिए । परिक्रमा मेलाको अवसरमा स्थानीय तहमा विदा भएकोले पनि मेलाको उत्साह थपिएको थियो । जलेश्वर नगरपालिकाले सूचना जारी गरी एक दिने सार्वजनिक विदा दिएको थियो । सो अवसरमा जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा विशेष सरसफाइको साथै मन्दिरलाई बेहुली झैं सजाइएको थियो ।
धनुषाको ठेरा कचुरी स्थित मिथिलाबिहारी स्थानबाट सोमबारदेखि सुरु भएको परिक्रमा यात्रा हनुमानगर (हनुमानगढी)मा रात्री विश्राम गर्दै मंगलबार बिहानै कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो । मंगलबार यात्रीहरुले कल्याणेश्वर स्थान (कलना)मा विश्राम गरेर बुधबार बिहान गिरिजास्थानको लागि प्रस्थान गरेको थियो ।
मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुनको औंशीदेखि सुरु भइ पूर्णिमासम्म नेपाल र भारतको गरी १ सय ३३ किलोमिटरको दूरी तय गर्दै पुनः जनकपुरधाम पुगेर समापन हुने गरेको छ ।
यस वर्ष पनि मिथिला बिहारी र किशोरीजीको डोलाको साथ–साथ परम्परागत बाजागाजा, झाँकी किर्तनसहित साधुसन्त तथा भक्तजनलगायतका पद यात्रीहरु सहभागी छन् । हजारौं श्रद्धालु भक्तजनहरु १५ दिनसम्म धार्मिक यात्रामा रहि परिक्रमा गर्दछन् ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक, पारम्परिक सामाजिक तथा पारस्परिक सद्भावको प्रतीक रहेको मिथिला माध्यमिकी परिक्रमा पदयात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।


