अक्षय कुमार भारतीय नागरिक बन्नलाई क्यानडाको नागरिकता त्यागे


काठमाडौं, १३ फागुन । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिक बन्नलाई क्यानडाको नागरिकता त्यागेका छन् । उनले आफु भारतको नागरिक बन्नका लागि क्यानडाको नागरिकता त्यागेको बताएका हुन् । भारतीय नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिइसकेको समेत उनले खुलाए ।

फिल्म ‘सेल्फी’को प्रमोसन गरिरहदाँ दिएको एक अन्तर्वार्तामा अक्षयले आफ्नो नागरिकताको बारेमा बोलेका थिए । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको बताए । क्यानडेली नागरिकताबारे यथार्थ नबुझिकन मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि उनले बताए ।

सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भएको थियो । यसबारे कुरा गर्दै उनले फिल्मले बक्स अफिसमा गरेको कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए । साथीको सल्लाहमा उनी क्यानडा जान चाहन्थे ।

अक्षयले भने, ‘मेरो दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र दुवै सुपरहिट हुनु भाग्यको कुरा हो । मेरो साथीले भन्यो फर्केर जाऊ, काम सुरु गर । मैले केही फिल्म पाएँ र थप काम पाइरहेको छु । मसँग राहदानी छ भनेर मैले बिर्सें । मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेको थिइनँ । तर अब मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु ।’

अक्षय शुक्रबारदेखि रिलिज भएको फिल्म सेल्फीमा देखिंदैछन् । यसमा उनको साथमा इमरान हासमी र नुसरत भरुचा पनि छन् । यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो । यसपछि अक्षय कुमार टाइगर श्राफको अपोजिट ‘ बडे मियाँ छोटे मियाँ’ मा देखिदैँछन् । एजेन्सी

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार