परिक्रमाबासीहरू आज चौथो दिन महोत्तरीको मटिहानीमा बिश्राम गर्दै


जनकपुरधाम, ११ फागुन । मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू बिहीबार चौथो दिन महोत्तरीको मटिहानी पुगेका छन् ।

नेपाल–भारतको सिमावर्ती क्षेत्र गिरिजास्थानबाट पदयात्रा गर्दै परिक्रमाबासीहरू बिहीबार बिहान मटिहानी पुगेका हुन् ।

धनुषाको ठेरा कचुरीस्थित मिथिलाबिहारी मठबाट सोमबारदेखि सुरु भएको मिथिला माध्यमिकी परिक्रमा पहिलो दिन हनुमानगरमा विश्राम गर्दै मंगलबार बिहान कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो । मंगलबार यात्रीहरूले कल्याणेश्वर स्थान (कलना) र बुधबार गिरिजास्थानमा विश्राम गरेका थिए ।

परिक्रमामा सहभागीहरू शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर, शनिबार मडै, आइतबार ध्रुवकुण्ड, सोमबार कञ्चनवन, मंगलबार पर्वता, बुधबार धनुषाधाम, बिहीबार औरही, शुक्रबार विशौल हुँदै शनिबार पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन आइतबार जनकपुरधाम फर्कने छन् ।

hdr

कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीहरूले एक आपसमा होली खेलेपछि औपचारिकरूपमा होलीको सुरुवात भएको मानिन्छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् ।

पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरूले झाँकी, भजनकीर्तन पनि गर्छन् । मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यावसायिक रूप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

परिक्रमामा सहभागीहरूका लागि प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाउने गरेको छ । परिक्रमा गर्नेहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाहरूले पनि सहभागीका लागि अन्न, दाउराको प्रबन्ध मिलाउँछन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरू छन् । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।

मटिहानी नगरपालिकामा आज सार्वजनिक बिदा

यसैबिच, महोत्तरीको मटिहानी नगरपालिकाले आज नगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।

मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत आज मटिहानीमा विश्रामस्थल रहेकाले नगरपालिकामा सार्वजनिक बिदा दिइएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

बिहीबार नगरपालिकामा अति आवश्यक सेवाबाहेक नगरपालिकाको कार्यालय र मातहतका कार्यालयहरु बन्द रहेको नगरप्रमुख मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार