जनकपुरधाम, ९ फागुन । जनकपुरधाममा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रदेशको कामकाजी भाषाको निश्कर्ष लाग्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
मुलुकमा संघियता आए पश्चात प्रदेशमा एक कार्यकाल सरकार चलि सकेपनि प्रदेशको कामकाजी भाषाको विषयमा कुनै निश्कर्ष लगाउन नसक्नु दुःखद रहेको वक्ताहरुले बताए । सो कार्यक्रममा वक्ताहरुले प्रश्न गरे ‘एक कार्यकाल सरकार चलि सक्यो, प्रदेशको कामकाजी भाषा कहिले बनाउने ?’
अन्त्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित मातृभाषामा शिक्षा विषयक कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशको कामकाजी भाषाको विषयमा निश्कर्ष लगाउन आफू गम्भिर रहेको बताए । उनले यही कार्यकालमा प्रदेशको कामकाजी भाषाको निश्कर्ष लगाइने स्पष्ट पारे । वक्ताहरुले उठाएको प्रश्नको जवाफमा सभामुख मण्डलले भने ‘प्रदेशको कामकाजी भाषाको निक्र्यौल लगाउन गम्भिर छु, यही कार्यकालमा यस विषयमा विषयमा निश्कर्ष लगाइने छ ।
कार्यक्रममा सभामुख मण्डलले मातृभाषाको विकासका लागि प्राथमिक तहको शिक्षा मातृभाषामा हुनुपर्नेमा जोड दिए । यसकालागि तीनै तहको सरकार गम्भिर हुनु आवश्यक रहेको उनको भनाई थियो ।
एक अर्को प्रसंगमा सभामुख मण्डलले मैथिली भाषालाई सबै जातजातीको हृदयमा वास गर्ने गरी बनाउनका लागि भाषाको सरलीकरण तर्फ ध्यान दिन आग्रह गरे ।
उनले भने ‘मैथिलीलाई कुनै दायरामा नबाँधेर भाषाको सरलीकरण गरी आमजनको भाषा बनाउनु पर्छ ।’ यसका लागि सबैलाई मान्य हुने गरी मैथिलीको शब्ब्दकोष, व्याकरण बनाउनु आवश्यक रहेको सभामुख मण्डलले बताए । मण्डलले मैथिलीको शब्दकोष र व्याकरणको प्रकाशन गर्नका लागि अर्थको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘तपाईहरु अगाडी बढ्नुस सहयोग गर्न तत्पर छु ।’
सभामुख मण्डलले आफ्नो संसदीय विकास कोषको रकमबाट मैथिली भाषाको उत्थानका लागि ३० लाख रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य रामसरोज यादवले मातृभाषामा शिक्षाका माध्यमिक स्तरसम्मको शिक्षाको अधिकार प्रदेश मातहत ल्याउनु पर्ने माग गरे । उनले माध्यमिक तहसम्मको शिक्षा प्रदेश मातहत नआएसम्म मातृभाषामा शिक्षा नारामै सीमित रह्ने बताए ।
भाषाविद डा. रामावतार यादवले असंख्य आमाहरु नै आफूले बोलिरहेको भाषाको विषयमा जानकार नहुनु दुःखद रहेको बताए । आमहरु नै भाषाको विषयमा जानकार नै नरहेकाले मातृभाषाप्रतिको अस्पष्टता भईरहेको बताए ।
बरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले मैथिली भाषा तथा मातृभाषाप्रति स्नेह राख्ने नेताहरुलाई मात्रै मत दिन आग्रह गरे ।


