नयाँ दिल्ली, ९ फागुन । भारतको छत्तीसगढ राज्यमा नक्सलवादीले दुई जना प्रहरीको हत्या गरेका छन् ।
राज्यको राजनान्द जिल्लाको बोर्तलाब क्षेत्रमा नक्सलवादीले प्रहरीको हत्या गरेको जनाइएको छ ।
सोमबार विहान बोर्तलाब क्षेत्रमा नक्सलवादीले प्रहरीमाथि गोली चलाउँदा घटनास्थलमा नै एक प्रहरी जवानको मृत्यु भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी अभिषेक मीनाले जनाएका छन् ।
आक्रमणमा घाइते भएका अर्का प्रहरी जवानको अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको उनले बताए । प्रहरी जवानद्वय मोटरसाइकलमा बोर्तलाब प्रहरी शिविरतर्फ गइरहेका बेला आक्रमण भएको उनले बताए ।
प्रहरी मारिएपछि घटनास्थल क्षेत्रमा प्रहरी र अर्धसैनिक टोलीले आक्रमणकारीको खोजी गरिरहेको जनाइएको छ ।
भारतको मध्य र पूर्वी भागमा सक्रिय नक्सलवादीले सुरक्षाकर्मीमाथि बेलाबेलामा भने घातक आक्रमण गर्दै आएका छन् ।
नक्सलवादीविरुद्ध केन्द्रीय सरकारले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेता पनि विद्रोहीका चपेटामा धेरै गरिब भारतीय परेका छन् । एजेन्सी


