सर्लाही, ६ फागुन । सर्लाहीको बरहथवामा विद्यालयको अवस्था बुझ्न गएका एक युवकमाथि कुटपिट गरिएको छ ।
जिल्लाको बरहथवा नगरपालिका–१० मा अवस्थित दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयको पढाईको अवस्था बुझ्न गएका स्थानीय २१ वर्षीय कृष्णकुमार चौधरीमाथि कुटपिट गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले चौधरीको टाउकोमाथि कुर्सी प्रहार गर्दा उनको टाउको फुटेको छ । उनलाई १० वटा टाँका लगाइएको छ ।
घाइते चौधरीले राजनीतिक पूर्वाग्रहा राखेर पूर्वअध्यक्ष यादवले आफूमाथि कुटपिट गरेको दाबी गरेका छन् ।
यता, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष यादवले चौधरीसँग सामान्य विवाद मात्र भएको बताए । चौधरी विद्यालयमा आएर अनावश्यक विवाद सिर्जना गरेको यादवले बताए ।
स्थानीय भने पूर्वअध्यक्ष यादवले विद्यालयमा आफ्नो अड्डा जमाएर बस्ने गरेको गुनासो गरेका छन् ।


