जनकपुरधाम, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किन सक्ने बताएको दुई दिन नबित्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत गठबन्धन भत्किने संकेत दिएका छन् ।
एमालेले संगठन सुदृढिकरणका लागि शुक्रबारदेखि देशव्यापी रुपमा शुरु गरेको मिशन ग्रासरुट अभियानको मधेश प्रदेशको राजधानी जनकपुरधाममा समुदघाटन गर्दै पोखरेलले गठबन्धन भत्किन सक्ने संकेत गरेका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेसंग हाल रहेको गठबन्धनमा भएको सहमतीबाट एमाले अलिकति पनि टसमस नहुने स्पष्ट पारे ।
‘एमालेसंगको सहमति अनुसार नै राष्ट्रपति तथा उपराष्ट्रपतिको निश्कर्ष लाग्छ, बरिष्ठ उपाध्यक्ष पोखरेलले भने‘ त्यसपछि मात्रै राष्ट्रिय सहमति, साझा निति तथा कार्यक्रम सहितका अलग च्याप्टरहरुमा एमाले सहमती खोज्न सक्छ ।’
उनले सहमती भंग गरिए एमाले अर्को चयाप्टर तर्फ समेत काम गर्न सक्ने र देशकै थप ठुलो शक्ति बन्ने दावी गरे ।
एमालेका सचिव रघुविर महासेठले अनगामी निर्वाचनहरुमा कम्तिमा ५१ प्रतिशत मत ल्याएर एकल सरकार निर्माणका उद्देश्यले मिशन ग्रासरुट अभियान चलाइएको जानकारी दिए । उनले मिशनका लागि मधेश प्रदेशको आठवटै जिल्लामा पालिकाको हिसाबले नेताहरुका लागि तोकिएको जिम्मेवारीको विषयमा जानकारी गराएका छन् ।
एमाले आफनै भित्रको गलत तत्व र प्रवृतीका कारण आज एक्लै स्थापित हुन नसकेकाले यस मिशनले संगठन सुदृढिकरण भएर आफनै बलमा सरकार निर्माणका लागि सहयोग गर्ने विश्वास मिशन ग्रास रुट अभियानको उदघाटन कार्यक्रममा सहभागी नेताहरुले बताए ।
कार्यक्रममा पार्टीका मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, स्थाई कमिटि सदस्यहरु लालबाबु पण्डित, गुरु बराल र सिता पौडेल, मन्त्री ज्वाला साहसहितको उपस्थिती रहेको थियो ।


