यस वर्षको ‘मिथिला माध्यमिकी परिक्रमा’ फागुन ८ गतेदेखि सुरु हुँदै


जनकपुरधाम, ५ फागुन । विश्वको सबैभन्दा लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’ यसवर्ष फागुन ८ गते सोमबारदेखि विधिवत रुपले सुरु हुन लागेको छ ।

यस धार्मिक पदयात्रालाई नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीकका रुपमा पनि चिनिन्छ ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसवर्ष फागुन ८ गतेदेखि सुरु भई फागुन २३ गते अर्थात १५ दिनसम्म चल्नेछ ।

मिथिला माध्यमिकी परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु हुने गर्दछ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु हुन्छ । परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरधामको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत सुरुवात हुने परम्परा रहेको अग्निकुण्डका महन्थ नवल किशोर शरणले बताए ।

परिक्रमामा सहभागीहरु क्रमशः फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।

कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरे पनि यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

परिक्रमामा सहभागीहरुका लागि प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाउने गरेको छ । परिक्रमा गर्नेहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाहरूले पनि सहभागीहरूका लागि अन्न, दाउराको प्रबन्ध मिलाउँछन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार