मनाङ मर्स्याङ्दी क्लबले गोलकिपर दीप कार्कीलाई नयाँ कप्तान बनायो


काठमाडौं, ४ फागुन । ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले गोलकिपर दीप कार्कीलाई नयाँ कप्तान बनाएको छ ।

यसअघिका कप्तान अन्जन विष्ट मनाङ छाडेर चर्च ब्वाइज क्लबमा लागेपछि मनाङले नयाँ कप्तान चयन गरेको हो ।

मनाङले अब फागुन १९ देखि सुरु हुने ‘ए’ डिभिजन लिगमा दीपको कप्तानीमा खेल्नेछ । साथै मनाङले दीपको कप्तानीमा राम्रो नतिजा ल्याउने विश्वास राखेको पनि जनाएको छ ।

‘राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ‘ए’ डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको छ ।

कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले लिएको छ’, मनाङका अध्यक्ष विजय घलेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अन्जनसहित पुजन उपरकोटी जस्ता अनुभवी खेलाडीले क्लब छाडेपछि मनाङले यस सिजन युवा खेलाडीसहित टिम बनाएको छ ।

मनाङले बार्सिलोनाका पूर्व खेलाडी देखि उज्वेकिस्तानको खेलाडीसमेत अनुबन्ध गरिसकेको छ । यस्तै मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार