बाँके, ३ फागुन । बाँकेको नेपालगञ्जबाट करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् ।उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ ।
रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


