काठमाडौं, २९ माघ । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकझसँग पराजित भएको छ ।
स्टार खेलाडी किलियन एमबाप्पे र लिओनल मेसीबिना मैदान उत्रेको पीएसजी मोनाकोसँग ३–१ ले पराजित भएको हो ।
एमबाप्पे र मेसी चोटका कारण दुवै खेलाडी खेलेका थिएनन् । घरेलु मैदानमा मोनाकोका लागि विसम वेन यडरले दुई गोल गरे । उनले १८औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।
त्यसअघि अलेक्जान्डर गोलोभिनले चौथो मिनेटमा गोल गरेका थिए । पीएसजीका लागि वारेन जइरे एमेरीले ३९औं मिनेटमा एक गोल गरेका थिए ।
पराजित पीएसजी २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ । पीएसजीलाई हराएको मोनाको २३ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । ४९ अंकसहित मार्से दोस्रो स्थानमा छ ।


