काठमाडौं, २९ माघ । नेपाल सरकारले विदेशस्थित विभिन्न देशमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो ।
माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो । गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो ।


