एजेन्सी, २९ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । हजारौं घाइते भएका छन् ।
टर्कीमा मात्रै २४ हजार ६२७ जना र सिरियामा ३ हजार ५७५ जनाले ज्यान गुमाएको तथ्यांक छ ।
मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएको अनुमान गरेको छ ।
टर्की र सिरियाका ९ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् । टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ ।
उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।
भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार १०५ घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भएको छ ।
भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । भूकम्प प्रभावित नुरुदाग सहरमा उक्त चमत्कार भएको हो ।
कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । आज ९ जनालाई जीवितै उद्धार गरिएको छ ।
मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् ।
टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीले गरेका प्रयासको सराहना गरेका छन् ।
उनले सिरियामा पनि सहायता सामग्री परिचान गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन ।


