एजेन्सी, २७ माघ । गत सोमबार गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी टर्की र सिरियामा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार टर्कीमा शुक्रबार बिहानसम्म १७ हजार ४ सयभन्दा बढी र सिरियामा ३ हजार ३ सय मानिसको मृत्यु भएको पुष्टि भएको छ ।
अब दुबै देशमा भत्किएका संरचनाभित्र पुरिएका मानिसहरूको उद्धार हुन सक्ने सम्भावना न्यून भएको छ । योसँगै मृतकको संख्या अझै बढ्ने सक्ने बताइएको छ । टर्कीमा मात्रै ६ हजार ५ सय वटा भवनहरू भत्किएका छन् भने थुप्रैमा गम्भीर क्षति भएको छ ।
भूकम्प पीडितहरू हिउँको चिसो खप्दै खुला आकाशमुनि रात बिताउन बाध्य छन् । द्वन्द्वग्रस्त उत्तरी सिरियामा अन्तर्राष्ट्रिय समुदायले पठाएको राहत पनि प्रभावकारी रूपमा पुग्न सकेको छैन ।
स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन् । तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो।अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ ।
विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो । यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो । त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए । आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए ।
अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो ।
भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन् ।
टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ । टर्कीको धेरै भू–भाग एनाटोलियन प्लेटमा पर्छ । सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो ।


