धनगढी, २६ माघ । सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेशसभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् । उनको सरकारले पूर्णता नपाँदै ३० दिनमै ढलेको छ ।


