जनकपुरधाम, २५ माघ । आफ्ना मामा माइजुलाई बुबा–आमा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा महोत्तरी प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मानिकचौक पश्चिमी पञ्चायत वडा नम्बर–१० बस्ने धर्मेन्द्र कुमार साहका १८ वर्षीय छोरा आकाश कुमार साह रहेका छन् ।
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–९ बस्ने मामा राजकिशोर साह र माइजु उर्मिला देवी साहलाई बुबा–आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई नायब सुब्बा भरत यादवले शंका लागेर सोधपुछ गर्दा उनी भारतीय नागरिक रहेको भेटिएपछि पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
नागरिकताका लागि आइतबार नै जिल्ला प्रशासन कार्यालय पुगेका आकाशको शैक्षिक प्रमाण पत्र भारतीय रहेको देखेपछि कर्मचारीलाई शंका लागेर नागरिकता दिएका थिएनन् । कर्मचारीले उनका बुबा बनेर आएका मामा राजकिशोरसँग सनाखत गराएर सोमबार नागरिकता दिने भनी फर्काएका थिए ।
सोमबार दिउँसो २ बजे आकाश नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्दा नासु यादवसहितको कर्मचारीले उनीसँग आवश्यक सोधपुछ गर्ने क्रममा उनी भारतीय नागरिक ठहरिएपछि तत्कालै पक्राउ गरिएको थियो ।
आकाश पक्राउ परेपछि उनलाई नागरिकताको लागि सिफारिस गर्ने मनरा सिस्वा नगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धर्मेन्द्र कुमार लाललाई पनि जिल्ला प्रशासनले फोन गरेर बोलाएको थियो ।
जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाण पत्र लिन खोजेका युवक आकाश, नागरिकता बनाउन सिफारिस गरेका वडाध्यक्ष झा र जन्मदर्ता बनाउने वडा सचिव लाललाई कार्यालयको मुद्दा शाखामा राखेर बयान लिएपश्चात् आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको सहायक प्रजिअ न्यौपानेले बताए ।
आकाशले बुबा–आमाको नाम कम्प्युटरबाट फर्जी रुपमा स्क्यान गरेर माध्यमिक परीक्षाको नक्कली भारतीय शैक्षिक प्रमाण पत्र बनाई बुबा–आमाको ठाउँमा मामा र माइजुको नाम लेखेर ल्याएको पाइएको सहायक प्रजिअ न्यौपानेले बताए ।
उनको जन्मदर्तामा मामा माईजुलाई बुबा–आमा बनाएर माघ ४ गते मनरासिस्वा नगरपालिका–९ बाट जन्मदर्ता प्रमाण पत्र जारी भएको थियो । आकाशको शैक्षिक प्रमाण पत्रमा जन्म मिति ई.सं.२००५ जनवरी १ कायम गरिएको छ भने जन्मदर्ता प्रमाण पत्रमा भने जन्म मिति २०६१ पुस १७ गते कायम गरिएको पाइएको छ ।


