जनकपुरधाम, २५ माघ । निर्माण व्यवसायीहरुले भुक्तानी माग्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय घेराउ गरेका छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम गरेपनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै उनीहरुले मन्त्रालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।
काम गरेको वर्षौं बितिसक्दासमेत भुक्तानी नपाएकोले यथाशीघ्र आफूहरुको भुक्तानी हुनुपर्ने माग गर्दै उनीहरुले नारा जुलुससहित प्रदर्शन गरेका छन् ।
गत आर्थिक वर्षहरुमा प्रदेश सरकारको दर्जनौं विकास निर्माणको काम गरेका उनीहरुले काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर मन्त्रालय घेराउ गरेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले जानकारी दिए ।
उनले आफूहरुले काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको व्याज तिर्नसमेत समस्या भइरहेपनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो सुनाए । बैंकको व्याज महिनाको ८० हजार तिर्नुपरेको उनले सुनाए । उनीहरुले भौतिक पूर्वाधार विकास मन्त्रालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको थियो ।
उनीहरुको विभिन्न ४१ वटा योजनाको करोडौं रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरुमा गरेको कामकाज पनि रहेको छ ।

यता, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरुले भुक्तानी पाउनुपर्ने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर सबैको भुक्तानी गरिने आश्वासन दिएका छन् । उनले सबैको भुक्तानीका लागि मुख्यमन्त्री पनि सकारात्मक देखिएकोले भुक्तानी हुने कुरामा ढुक्क रहन आग्रहसमेत गरे ।
मधेस प्रदेश सरकारका अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिको करिव १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यसअघि, आर्थिक वर्ष २०७५÷०७६ मा पनि प्रदेश सरकारको योजनाको बाँकी भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले यसअघिका मुख्यमन्त्री लालबाबु राउत लगायत केही मन्त्रीको तस्बिर अंकित व्यानरमा जुत्ता प्रहार गरेको थियो ।


