बारामा बजार अनुगमन : पाँच व्यवसायीलाई एक लाख पाँच हजार जरिवाना


बारा । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा बाराको निजगढ र कलैयाका पाँच व्यवसायीलाई कुल एक लाख पाँच हजार रुपियाँ जरिवाना गरिएको छ । अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य सामग्री तथा मिठाई बनाउन प्रयोग गरिने सामग्री फेला पारेपछि जफत गरी नष्ट गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वीरगन्जका प्रमुख सुरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले निजगढमा गरेको अनुगमनका क्रममा तीन व्यवसायीलाई जरिवाना गरेको हो । निजगढ नगरपालिका–९ स्थित निसा ट्रेडर्स किराना थोक पसललाई ५० हजार रुपियाँ तथा निजगढ नगरपालिका–८ स्थित तामागढी दुग्ध उद्योग र राधाकृष्ण डेरी उद्योगलाई जनही २० हजार रुपियाँ जरिवाना गरिएको छ ।

यसैगरी, कलैया बजारमा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जले गरेको छड्के अनुगमनका क्रममा विकास जेनरल स्टोर्सलाई पाँच हजार र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपियाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेको थियो । माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग गरिने खिराको बियाँ र केवरा वाटर म्याद गुज्रिएको अवस्थामा भेटिएको थियो । उक्त पसलमा गुलाबजलसमेत फेला परेको अनुगमन टोलीले जनाएको छ ।

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जका प्रमुख सुनिल चौरसियाका अनुसार म्याद गुज्रिएका सामग्री नष्ट गरिएको छ । उपभोक्ता संरक्षण ऐनका सम्बन्धित प्रावधानअनुसार दुवै पसललाई जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो । माँ अन्नपूर्ण स्वीट्सलाई यसअघि पनि अनुगमनका क्रममा ५० हजार रुपियाँ जरिवाना गरिएको थियो ।

कलैयाकै जय महारानी किराना भण्डारमा म्याद गुज्रिएको १०० ग्रामको एक प्याकेट मसला फेला परेको अनुगमन टोलीले जनाएको छ ।

टोलीले कलैयाका न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र माँ तारा स्वीट्सलगायत १० वटा पसलको निरीक्षण गरेको थियो । अनुगमनका क्रममा व्यवसायीलाई सामान खरिद तथा बिक्री गर्दा म्याद र लेबल जाँच गर्न, म्याद गुज्रिएका सामग्री बिक्रीयोग्य वस्तुबाट अलग राख्न तथा पसलमा सरसफाइ कायम गर्न निर्देशन दिइएको छ ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, मिठाई तथा दुग्धजन्य पदार्थको माग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई तीव्र बनाइएको सम्बन्धित निकायले जनाएको छ । बजारमा गुणस्तरीय वस्तुको उपलब्धता सुनिश्चित गर्न अनुगमनलाई नियमित रूपमा निरन्तरता दिइने पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार